शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

महिला उद्यमशीलताका लागि नबिल बैंक, सीएनआई र महिला शक्तिले सहकार्य गर्ने

दैनिक नेपाल २०७८ माघ ८ गते १०:१०

काठमाडौं, ८ माघ । महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँचका लागि नबिल बैंक, नेपाल उद्योग परिसंघ (सीएनआई) को वुमन लिडरशीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालले सहकार्य गर्ने भएका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त त्रिपक्षीय सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह, वुमन लिडरशीप फोरमकी संयोजक छायाँ शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालकी कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नबिल बैंकका सीईओ शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण भएको बताउँदै महिलाहरूको आर्थिक विकाशका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।

हस्ताक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरशीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाश सँगसँगै देशको दीगो विकाशमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तीकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरू गर्दै आइरहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दीगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको छ ।

यो सम्झौतामार्फत नबिल बैंकले नबिल दीगो बैंकिङका प्रयासहरूलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित