शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एनआईसी एशिया बैंकले दोस्रो त्रैमासमा कमायो करिब साढे २ अर्ब नाफा

दैनिक नेपाल २०७८ माघ ७ गते ९:४६

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार सो अवधिसम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.०८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १२.५९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड १९ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालू आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड २० लाख रुपैयाँ रहेको छ । जसले गर्दा सञ्चालन मुनाफामा केही दबाब पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३५ रुपैयाँ ७३ पैसाबाट बढेर ४१ रुपैयाँ ५४ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष २३.६८ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको निक्षेप २.७६ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित