
काठमाडौं, ७ माघ । कामना सेवा बैंक र अन्तरप्रेरणाको सहकार्यमा ‘उद्यमशीलता विकास कार्यक्रम’ सम्पन्न गरिएको छ ।
उद्यमशीलता विकास र प्रवर्द्धनका लागि भर्चुअल माध्यमबाट पाँचदिने कार्यक्रम आयोजना गरिएको कामना सेवा विकास बैंकले जानकारी दिएको छ । आइतबारदेखि बिहीबारसम्म आयोजित कार्यक्रममा उद्यमीहरूसहित उद्यमी बन्न चाहाने १६ जनाको सहभागिता रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूले उद्यम सञ्चालनको प्रक्रियासँगै आधारभूत कानुनी तथा करसम्बन्धी जानकारीहरू प्राप्त गर्नाका साथै समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवर्द्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न आधारभूत कुराहरूको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र शीप समेत प्राप्त गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम समापनका अवसरमा बैंकका अध्यक्ष्य सुदीप आचार्यले यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई प्रोत्साहन गर्ने र नेपालमा रहेको असीमित अवसरहरूलाई सही रूपमा पहिचान गरी नवीन सृजनामार्फत देशमा आर्थिक स्थिरता, रोजगारी सृजना र अन्य विभिन्न लाभहरू प्रदान गर्ने बताएका छन् । साथै बैंकले नव उद्यमीहरूलाई हरतरहबाट साथ दिने र उनीहरूको नवीन सोच र सृजनालाई सधैं प्रोत्साहन गरिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले सम्पूर्ण सहभागीहरूलाई अन्तरक्रियात्मक सहभागिताका लागि धन्यवाद ज्ञापन गरी आगामी दिनहरूमा सहभागीहरूको सफल उद्यमको लागि शुभकामना व्यक्त गरे । नव उद्यमीहरूको सफल यात्रामा अन्तरप्रेरणाले सधैं साथ दिने प्रतिबद्धता उनको छ ।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सहभागीहरूलाई सफल उद्यमका लागि चाहिने पूँजी व्यवस्थापनका लागि लगानी तथा कर्जाको माध्यमबाट बैंकले पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।















प्रतिक्रिया