३ मंसिर २०८३, बिहिबार

डीएसपी भण्डारीको टोलीले यसरी समात्यो ससुरालीमा पत्नी हत्या गरी ७ बर्षदेखि फरार अभियुक्त

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलबस्तु, २९ पुस। जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायव उपरिक्षक (डीएसपी) धर्मराज भण्डारीको कमान्डमा खटिएको टोलीले ७ बर्षअघि पत्नी हत्या गरी फरार रहेका भारतीय नागरिकलाई समातेको छ।

३० फागुन ०७१ मा कपिलवस्तु साबिक भिल्मी गाबिस–९ हाल कृष्णनगर नगरपालिका–६ श्रीनगरकी किस्लावती चमारलाई भारत जिल्ला सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने जयराम चमारको छोरा मुलायम चमार भन्ने सिकन्दर चमारले ससुराली ल्याए।

छोरी ज्वाँई आएपछि सुखराम चमारले खाना खुवाए र घरमा छाडेर गोठमा सुत्न गए। सुखरामको त्यो रात नै छोरीसँगको अन्तिम भेट बनाईदिए ज्वाँई सिकन्दरले।

किसलावतीलाई श्रीनगर गाँउको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा लगी हत्या गरेर आगो समेत लगाई सिकन्दर भागेका थिए। ‘मुलायम नाम भएका सिकन्दर चमारलाई प्रहरीले खोजी गरिरहेको थियो, उनी सीमा क्षेत्रमा रहेको गोप्य सूचनाका आधारमा पक्राउ गर्न सफल भयौं’, अनुसन्धान अधिकारी डीएसपी भण्डारी भन्छन्,‘आवश्यक कारबाहीका लागि थप अनुसन्धान जारी छ।’

सिकन्दरलाई २७ पुस राती कपिलवस्तु यशोधरा गाँउपालिका–६ रंगपुरस्थित नेपाल–भारत दशगजा सिमानामा भारतबाट नेपाल तर्फ शंकास्पद तरिकाले आउँदै गरेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई छ।

सिकन्दरको साथबाट उत्तर प्रदेश प्रान्तिय रक्षक दल महानिर्देशनालयको परिचय पत्रसहित नंम्बर प्लेट नभएको निलो मोटरसाइकल समेत फेला पारिएको प्रहरीले जनाएको छ।

मृतकका बुवा सुखरामले प्रहरीलाई हत्याका दिन राती ससुराल आएका छोरी ज्वाइलाई खाना खुवाई विस्तरा लगाई सुत्न गएको बयान दिएका छन्। भोलीपल्ट विहान घरदेखि तीन सय मिटर टाढा रहेको रहरको खेतमा काटिएको र जलाएको अवस्थामा छोरीको लास फेला परेको गाउँलेले जानकारी दिएपछि छाँगाबाट खसेजस्तो भए, सुखराम।

सुखरामले प्रहरीलाई दिएको प्रारम्भिक जानकारीमा भनेका छन्,‘ लास फेला परेको २ दिनपछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थमा फेला पारेका थियौं।’

हत्यापछि अभियुक्त सिकन्दर भारत शिदार्थनगरस्थित बडहरा गाऊँमा आफ्नी बहिनीको घरमा लुकेको र त्यसपछि फरार भएका थिए। सिकन्दरले पत्नी हत्या गर्नुको अर्को कारण परस्त्रीसँगको सम्बन्ध रहेको पनि खुलेको छ। विवाह गरेको २ बर्षमा नै किस्लावतीको हत्या भएको थियो। हत्या हुँदा मृतक २१ र अभियुक्त २३ बर्षका थिए।