बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना भाइरसविरुद्ध कति मात्रा खोप आवश्यक हुन्छ? बूस्टर डोज के हो?

दैनिक नेपाल २०७८ पुष २८ गते ११:२३

काठमाडौं, २८ पुस। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ पहिलो साताबाट अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूका लागि कोभिड-१९ विरुद्ध खोपको ‘बूस्टर डोज’ दिने योजना अघि सारेको छ।

मन्त्रालयको निर्णय नआउँदै नेपालमा पहुँचवाला र विशिष्ट व्यक्तिहरूले कोभिड खोपको थप मात्रा लगाइरहेको विवरणहरू सार्वजनिक भएको छ। तर मन्त्रालयले यसबारे जानकारी नभएको बताएको छ।

गत साता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोभिड पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि परेका छन्। तर प्रधानमन्त्रीनिकट एक स्रोतले शेरबहादुर देउवाले कोभिड खोपको तेस्रो मात्रा लगाइसकेका जनाएको छ।

यस विषयमा बुझ्न खोज्दा उनका स्वकीय सचिव भानु देउवाले कुनै प्रतिक्रिया दिएनन्।

बूस्टर डोज के हो?

कोरोनाभाइरसविरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुन: सक्रिय बनाउन दिइने खोपको मात्रालाई बूस्टर मात्रा भनिने गरिएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी कोभिड-१९ विरुद्धको खोप एक पटक लगाएर जीवनभरि ढुक्क भएर बस्ने प्रकृतिको खोप नभएका कारण दुई मात्रा प्राथमिक खोप लगाएकाले पनि बूस्टर खोप लगाउनुपर्ने बताउँछन्।

“बूस्टर भनेको रोग प्रतिरोधात्मक शक्ति छ, त्यसलाई अझ बढाउने अर्थात् बूस्ट गर्ने मात्रा हो। त्यसैले यो मात्रा लगाउनैपर्छ,” गत साता स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अधिकारीले भने।

अतिरिक्त मात्रा र बूस्टर मात्रामा पनि भिन्नता भएको उनी बताउँछन्।

“दुई मात्रा दिइसकेकालाई भन्यौँ भने त्यो बूस्टर भयो। प्रतिरोधी क्षमता कम भएका र दीर्घरोगीका लागि प्रतिरोधी क्षमता बढाउन दिइने अतिरिक्त मात्रा हो,” उनले भने।

एन्टिबडी भनिने रोगप्रतिरोधका लागि शरीरमा बन्ने तत्त्व बिस्तारै क्षीण हुँदै जाने र थप खोप नदिए फेरि रोग लाग्न सक्ने सम्भावना बढ्दै जाने भएकाले बूस्टर डोज लगाउनुपर्ने विज्ञहरू बताउँछन्।

साधारणतया दोस्रो मात्रा खोप लगाएको छ महिनापछि बूस्टर मात्रा दिनु उपयुक्त हुने विशेषज्ञहरूको सुझाव छ।

कसले पाउँछन् बूस्टर डोज?

नेपालमा सोमवारसम्म दुई करोड ६० लाख मात्राभन्दा बढी मात्रा कोभिड खोप वितरण भइसकेको छ। सरकारी अधिकारीहरूका अनुसार यसमा एक मात्रा, दुई मात्रा, बूस्टर मात्रा र अतिरिक्त मात्राको सङ्ख्या पनि जोडिएको छ।

बूस्टर मात्राबारे लगाउनेबारे सरकारले निर्णय नगरेका कारण मानिसहरूले पुनः नयाँ खोप कार्ड बनाएर बूस्टर मात्रा लगाउने गरेको खोप अभियानमा संलग्न अधिकारीहरूको भनाइ छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकटस्थ एक स्रोतले प्रधानमन्त्रीले पनि बूस्टर मात्रा खोप लगाइसकेको जानकारी आइतवार बीबीसीलाई दिएको थियो।

स्वास्थ्य मन्त्रालय स्रोतले धेरै विशिष्ट व्यक्तिहरूले कोभिडविरुद्ध बूस्टर मात्रा लिइसकेको जानकारी दियो। अधिकांशले पहिले लगाएकै खोपको बूस्टर मात्रामा लगाएका छन् भने केहीले बूस्टरका लागि फरक खोप लगाएका छन्।

तर यसरी खोप लगाएको पाइए सरकारले खोपमा संलग्न निकायलाई स्पष्टीकरण सोध्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए।

भाइरससँग लड्ने क्षमता कम भएका दीर्घरोगी र ६० वर्षमाथि उमेर समूहका मानिसहरूलाई पहिलो चरणमा बूस्टर मात्रा दिनुपर्ने विज्ञहरूको सुझाव छ।

यसअघि दुई मात्रा खोप लगाइसकेकाहरूलाई बूस्टर मात्रा दिने योजना भए पनि विस्तृत कार्यविधि अझै तयार नभएको अधिकारीले जानकारी दिए।

ज्येष्ठ नागरिकहरूलाई माघ दोस्रो साताबाट बूस्टर मात्रा खोप दिने तयारी पनि मन्त्रालयले अघि सारेको छ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा अग्रपङ्क्ति काम गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई बूस्टर मात्रा दिएपछि मात्रै बाँकी उमेर समूहलाई दिने तयारी भइरहेको जनाएको छ।

कोभिड खोप कति पटकसम्म लगाउन मिल्छ?

भारतमा एक व्यक्तिले कम्तीमा आठ पटकसम्म कोभिड-१९ विरुद्धको खोप लगाएको जानकारी सार्वजनिक भएको छ।

बिहार राज्यका ६५ वर्षीय ब्रह्मदेव मण्डलले आफूले ११ पटकसम्म कोरोनाभाइरसविरुद्धको खोप लगाएको र त्यसका कारण आफूलाई कुनै नराम्रो असर नपरेको दाबी समेत गरेका छन्।

इजरेललगायत कतिपय देशले ओमिक्रोन भेरिअन्ट विश्वमा फैलिन सुरु भएपछि चौथो मात्राको खोप दिन सुरु गरेका छन्।

तर केही विज्ञहरूले तीन मात्राभन्दा बढी खोप लगाउन अहिले आवश्यक नरहेको बताएका छन्। तीन मात्रा खोपले पनि ओमिक्रोन भेरिअन्टबाट हुने गम्भीर समस्याका लागि सुरक्षा दिने भएकाले चौथो मात्रा आवश्यक नरहेको यूकेका विज्ञहरूको राय छ।

“अहिलेसम्मको अध्ययनहरूका आधारमा हामीले लगाएको खोपहरूमध्ये जोनसन एन्ड जोनसनको एक मात्रामै पूर्ण हुने र बाँकी सबै खोपहरू दुई मात्रा पूर्ण हो भनेर खोप अभियान सञ्चालन गरेका हौँ,” सहप्रवक्ता अधिकारी भन्छन्।

“पछिल्लो अध्ययनले थप एक मात्रा लगाउनुपर्ने भनेअनुसार आवश्यक तयारी अघि बढाएका हौँ। समय क्रममा कुनै नयाँ तथ्य फेला पर्‍यो भने त्यसअनुसार सरकारले जानकारी गराउँछ अहिलेसम्मका लागि विज्ञानले भनेको यति मात्रा मात्रै हो।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोभिड नेपाल: ‘थप खोप भित्रिए भण्डार नै छैन, निकै गाह्रो पर्न सक्छ’

मिसाउने कि पहिलेकै लगाउने?

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातले यसअघि बीबीसीसँग कुरा गर्दै तेस्रो मात्राको खोप फरक कम्पनीको लगाउँदा प्रतिरोधी क्षमता अत्यधिक हुने कुरा आइरहे पनि त्यसबारे धेरै प्रमाणहरू नभएको बताएका थिए।

तर खोप सल्लाहकार समितिका अध्यक्ष अधिकारी पहिलो र दोस्रो मात्रा लगाएको खोप नै बूस्टर मात्राका लागि उपयुक्त हुने बताउँछन्।

“अहिलेसम्म भएका अनुसन्धानको आधारमा पहिलो लगाएको खोप नै उपयुक्त हुन्छ र सुरक्षित पनि हुन्छ,” उनी भन्छन्।

“पहिले लगाइसकेको खोपको सुरक्षाबारे पहिल्यै थाहा छ। त्यस कारण पनि त्यही लगाउँदा उपयुक्त हुन्छ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी पनि खोप मिसाएर लगाउँदा जोखिम हुन सक्ने भएकाले सरकारले पहिले लगाएकै खोपको अतिरिक्त मात्रा दिने तयारी गरिरहेको बताउँछन्।

“अर्को खोप लगाउन सरकारको सिफारिस छैन। थप कुराहरू अध्ययनले आए भने समय अनुसारका निर्णयहरू हामीले गर्छौँ नै,” अधिकारी भन्छन्।

“बाँकी रहेको कुनै पनि खोप एउटा लगाएको मानिसले अर्को खोप मिसाउन हुँदैन।”

उनले मिसाएर खोप लगाउँदा क्यूआरकोडसहितको खोप लगाएको प्रमाणपत्र बनाउन पनि समस्या पर्ने बताए।

तस्बिर स्रोत,REUTERS

खोप पर्याप्त ?

नेपालले प्राप्त गरेको तीन करोड ९२ लाख मात्रा खोपमध्ये दुई करोड ६० लाखभन्दा केही बढी मात्रा मात्रै खोप अहिलेसम्म लगाइसकिएको छ।

यसमा कतिपय मात्रा खेर जाने भए पनि सरकारसँग अझै एक करोड बढी मात्रा खोप भण्डारणमा रहेको अधिकारीहरू बताउँछन्।

सरकारले खोप अभियान जारी राखेको बताए पनि पछिल्लो तथ्याङ्कअनुसार करिब ३८ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा र ५० प्रतिशतले एक मात्रा कोभिड खोप लगाएको छ।

ठूलो जनसङ्ख्या प्राथमिक मात्रा खोप लगाउनबाटै वञ्चित रहेको अवस्थामा बूस्टर मात्रा लगाउन उपयुक्त नहुने कतिपयले बताउँदै आए पनि सरकारले माघबाट बूस्टर मात्रा सुरु गर्ने तयारी अघि बढाएको छ।

यसका लागि पर्याप्त खोप रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी बताउँछन्।

“अहिले हामीसँग खोप मौज्दातमा समस्या छैन। अतिरिक्त मात्रा दिन पुग्ने पर्याप्त खोप छ। हामीलाई खोपको दायरामा नआउनुभएका व्यक्तिहरूलाई चाँडोभन्दा चाँडो खोप लगाउनुपर्ने बाध्यात्मक अवस्थामा छौँ। किनभने सरकारले माघ सात गतेपछि सार्वजनिक स्थलमा जानुपर्‍यो भने खोप लगाएको प्रमाणपत्रका आधारमा मात्रै प्रवेश दिने नीति लिँदैछ,” मन्त्रालयका सहप्रवक्ता अधिकारी भन्छन्। (बीबीसी)

 

प्रतिक्रिया
सम्बन्धित