मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सरकारलाई एमालेको प्रश्न– नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सन्देहास्पद मौनता किन ?

दैनिक नेपाल २०७८ पुष २७ गते २१:५२

काठमाडौं, २७ पुस । भारतले नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेको भए पनि वर्तमान सरकारले मौनता साँधेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गम्भीर आशंका व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल समेत रहेको एमालेले आज मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने काम भारतले गरिरहेको भए पनि नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाउनुले अनेकौं प्रश्न जन्माएको बताएको छ ।

‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

नेपाली भूमिमा भारतले पुनः सडक संरचना निर्माणलाई तीव्रता दिनु नेपाल–भारत संयुक्त आयोगको बैठकले गरेको निर्णयविपरीत भएको ठहर गर्दै एमालेले भारतीय तर्फबाट भइरहेको निर्माण कार्य तत्काल रोक्न जोडदार माग गरेको छ ।

‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ ।’

वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइन नहुने एमालेको मान्यता रहेको पार्टीको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेको भन्दै पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गत वर्ष राजनीतिक–प्रशासनिक नक्सा जारी गरेको थियो । साथै संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी एवम् राजनीतिक अडान स्पष्ट पारिसकेको अवस्थामा भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाउनु गम्भीर आपत्तिको विषय भएको एमालेको भनाइ छ ।

भारतले लामो समयदेखि मिच्दै आएको नेपाली भूभागहरू फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न यसअघिको सरकारले विगतमा कुटनीतिक पहल शुरू गरेको थियो । त्यसपछि रोकिएको निर्माण कार्य पुनः शुरू गरेको भन्दै एमालेले आपत्ति जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित