
काठमाडौं, २७ पुस । नेपालमा कोरोना कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पछिल्लो २४ घण्टामा करीब दोब्बरले वृद्धि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर थप २ हजार ४४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा देशभर १० हजार ६४८ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ जना गरी आज २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ३५ हजार ९२७ जना पुगेको छ ।
अघिल्लो २४ घण्टामा देशभर १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १४ हजार ७९८ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ५ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख ४८ हजार २३७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ९ हजार ५२२ जना आइसोलेसन र ११३ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया