
प्युठान, २६ पुस । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् प्यूठान इञ्चार्ज सूर्य थापाले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नेहरूलाई ‘रतन्धो’ लागेको बताएका छन् ।
नेकपा एमाले प्युठानको नवनिर्वाचित जिल्ला पार्टी अध्यक्ष विजयविराज विष्ट र आफ्नो बारेमा कुप्रचार गर्न सक्रिय भएकाहरूप्रति आक्रोश व्यक्त गर्दै थापाले रतन्धो लागेकाहरूले मात्रै सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गरेर समय बर्बाद पार्ने बताएका हुन् ।
‘अनावश्यक तथ्य र तर्कका आधारमा कुप्रचार गर्नेहरुलाई रतन्धो लागेको छ,’ नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वको सपथ तथा पद बहाली कार्यक्रममा उनले भने, ‘रतन्धो लागेका ती व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने भएको छ ।’ आफ्नो र विजयको प्रतिस्पर्धा नभएको भन्दै उनले प्रतिनिधिहरूबाट निर्वाचित नेता सबैको साझा भएको बताएका छन् ।
‘करिब ५ हजार पार्टी सदस्यबाट चुनिएर आएका ५०० बढी प्रतिनिधिले चुनेको नेता हामी सबैको नेता हो,’ थापाले भने, ‘एमालेमा व्यक्ति प्रधान नभई नीति मुख्य विषय हुने गर्दछ । उन्नत प्रकृतिको आन्तरिक प्रतिस्पर्धा तथा सानदार अधिवेशनबाट नयाँ नेतृत्व आएको छ ।’
‘नेतृत्वको हैसियतले आकांक्षीहरूलाई सर्वसम्मतका लागि प्रयास गर्नुहोस् भनेको जरूर हो,’ थापाले भने, ‘टीका लगाइदिएर नेता बनाउने नेतृत्व हामी होइनौं । नेता छान्ने सार्वभौम अधिकार प्रतिनिधिमा हुन्छ, जसको उन्नत अभ्यास हामीले गर्यौं ।’















प्रतिक्रिया