
रुपन्देही, २४ पुस। इलाका प्रशासन कार्यालय बुटबलमा नेकपा एमालेले तालाबन्दी गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि एमालेले तालाबन्दी गरेको हो।
शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजे नै तालाबन्दी गरेका हुन्।
एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा गएको टोलीले ताला लगाएको हो। त्यसक्रममा केही बेर तनाव उत्पन्न भएको थियो।
बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरु भित्रै थुनिएका थिए। सुरक्षाकर्मीको उपस्थितिमा नामावली संकलन भएको र उक्त काममा गृहमन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताए ।
मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए। एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ।















प्रतिक्रिया