
ललितपुर, २१ पुस । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभाको एकाई (५) अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रूपन्देहीमा उद्घाटनपछि उनले सो कुरा बताएका हुन् । विपन्न समुदायका जनताको आर्थिक विकासका लागि सहकारी मोडेलको योजना आवश्यक हुने भन्दै प्रदेश प्रमुख शेरचनले भने, ‘सहकारीको सहभागिताविना आर्थिक विकास सम्भव छैन ।’
‘जनताको स–सानो पूँजी र प्रविधिमार्फत आय–आर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहँदै आएको भन्दै उनले अबको सम्पूर्ण ध्यान कृषि क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउन सकियो भने मात्र आर्थिक विकासमा फड्को मार्न सकिने कुरामा जोड दिएका छन् । उनले सहकारी बैंकले पनि उत्पादनमुलक क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सके जनताले चाहे जस्तो आर्थिक विकास सम्भव रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग सञ्चालन गर्नु पर्ने भन्दै सहकारीलाई व्यावसायिक गराउन सहकारी ऐन र अन्य ऐन, नियममा देखिएका समाधान गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

साधारणसभामा बैंकका अध्यक्ष केबी उप्रेतीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीहरूको प्रवद्र्धनका लागि सहकारी बैंकले वित्तीय कारोबारसँगै संस्थागत विकास, व्यवसायिक कारोबारमा समेत सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताए । बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्म शेयर पूँजी ३ अर्ब ५० करोड, निक्षेप सङ्कलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिए । बैंकमा हाल ३ अर्ब शेयर पूँजी र यसलाई बढाएर ८ अर्ब पुर्याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैककको केन्द्रीय कार्यालयका लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीतिनियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभा गत शुक्रबारदेखि शुरू भएको थियो । पहिलोपटक प्रदेशस्तरमा भौतिक रूपमा हुन लागेको वार्षिक साधारणसभाअन्तर्गत पहिलो सभा सुदूरपश्चिम प्रदेशको धनगढीबाट शुरू भएको हो ।















प्रतिक्रिया