६ कार्तिक २०८३, शुक्रबार

‘सहकारीको प्रवर्द्धनमा सञ्चारको भूमिका बढाऔ’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ पुस । सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सञ्चार क्षेत्रसँगको सहकार्य बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्श सञ्चार डटकमको आयोजना तथा जिल्ला सहकारी संघ कास्कीको संयोजनमा पोखरामा हिजो सोमबार आयोजित सहकारी र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सञ्चारसँगको सहकार्यमा सहकारी क्षेत्रका सबल पक्षहरूलाई आम समुदायमा लैजानु पर्ने बताएका हुन् ।

सहकारीले आफ्ना सदस्यहरू र आम समुदायको आर्थिक विकास र सामाजिक रूपान्तरणमा धेरै महत्वपूर्ण काम गरेको भए पनि केही सहकारीहरूका कमजोरीका कारण सहकारीका असल कामहरू ओझेलमा परेको भन्दै सहकारीकर्मीहरूले कमजोरीसँगै सबल पक्षका बारेमा जानकारी गराउन सञ्चार क्षेत्रले ध्यान दिनु पर्ने बताए ।

उनीहरूले सहकारीका समाचार प्राथमिकतामा नपरेको गुनासो समेत गरेका छन् । सहभागी सहकारीका अगुवाहरूले आदर्श सञ्चार डटकमसँग समन्वय गरेर पोखराका सहकारीहरूको प्रर्बद्धनमा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई हेर्ने आम दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि सञ्चारमाध्यमको भूमिका बढी हुने भएकाले सहकारी र र सञ्चारबीच सहकार्य आवश्यक रहेको बताए ।

‘सहकारी क्षेत्रमा राम्रा धेरै र नराम्रा कम समस्या छन्, तर कमजोरीहरूलाई बढी प्राथमिकता दिएका कारण राम्रा नै छैनन् कि भन्ने भ्रम राज्य सञ्चालनको जिम्मेवारीमा बसेकाहरूमा छ,’ उप्रेतीले भने, ‘सहकारी र सञ्चारबीच समन्वय गरेर सहकारीका सबल पक्षहरूलाई उजागर गर्न सके सहकारीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सक्छ ।’

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सञ्चार माध्यम सञ्चालन गरेर अब्बल भएका सञ्चार सहकारीहरू सिमित रहेको बताए । सहकारी क्षेत्रले सञ्चार क्षेत्रलाई विशेष ध्यान पुर्याउनुपर्ने उनको भनाइ थियो । गुरागाईले सूचनालाई नकरात्मक भन्दा सकरात्मक रूपमा बढी प्रभाव गर्नुपर्ने भन्दै सञ्चार क्षेत्रलाई सकरात्मक परिचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा दूग्ध केन्द्रीय संघका लेखा सुपरीवेक्षण समितिका संयोजक युवराज पराजुली, नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइराला, संघका निवर्तमान अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध सहकारी संघका अध्यक्ष पुण्य प्रसाद पौडेल, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी लगायतले सञ्चार र सहकारीको प्रभावकारिताका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीमार्फत सञ्चारको विकास, आदर्श सहकारीको काम, योजना र भूमिकाका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, सराङ्कोट बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, जयलक्ष्मी सहकारीका अध्यक्ष निलराज आत्रेय, प्रमुख कार्यकारी अधिकृत सशील केसी, काँहुकोट बहुउदेश्यीय सहकारी संस्थाका सचिव दिपक प्रकाश आचार्य, विराट कृषि सहकारी संस्थाका निर्वतमान अध्यक्ष रामजी लामिछाने, पोखरा महानगर सहकारी संघका लेखा संयोजक लक्ष्मी प्रसाद त्रिपाठी, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष शेर बहादुर कार्की, लगायतले सहकारी सञ्चार क्षेत्रको भूमिकाका विषयमा जिज्ञासा राख्दै सहकारीका सकरात्मक कामको सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रम आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो । २०६३ सालदेखि सञ्चार क्षेत्रमा क्रियाशील रहेको आदर्श सञ्चार सहकारी संस्थाले धवलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन सञ्चालन गर्नाका साथै धवलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको छ ।

संस्थामा हाल तीन हजार शेयर सदस्य, पाँच करोड ५० लाख शेयरपूँजी, ३३ करोड बचत, ३७ करोड कर्जा लगानी र ४५ करोड वासलात रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिए ।