
बागलुङ, १० पुस । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशकी संयोजक हुमाकुमारी (अञ्जु) जीसीले सहकारीहरूलाई सदस्यकेन्द्रीत योजना बनाएर काम गर्न सुझाव दिएकी छिन् ।
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको सातौं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटनपछि प्रमुख अतिथि जीसीले सदस्यको चाहना, आवश्यकता र संभावनालाई मध्यनजर गरी योजना निर्माण गरेर काम गर्न सके सहकारीहरू सफल हुने धारणा व्यक्त गरेकी छिन् ।
जिल्ला तथा विषयगत सहकारी संघहरूलाई रणनीतिक योजना निर्माणलगायत व्यावसायिक र क्षमता विकासका लागि महासंघले नियमित रूपमा तालिम सञ्चालन गरेको जानकारी गराउँदै उनले सहकारी संघसंस्थाहरूलाई सफल बनाउनका लागि सहकारी शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जीसीले मुलुकमा देखिएको तरलता सङ्कटले सहकारी क्षेत्रमा पारेको प्रभावका बारेमा सचेत हुन आह्वान गरेका छन् । सहकारी क्षेत्रमा देखिएको तरलताको सङ्कट समाधानका लागि सहकारीसम्वद्ध सबै सरोकारवालाहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको भन्दै उनले सहकारी संस्थाहरूले तरलता अभावका कारण आउन सक्ने जोखिम व्यवस्थापनका लागि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका सल्लाहकार अशोकगोविन्द राजभण्डारी, संघका लेखा समितिका संयोजक हुम बहादुर थापा लगायतले बहुउद्देश्यीय सहकारीहरूलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा बहुउद्देश्यीय सहकारी संघले योजना बनाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रम बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष कुशुम बुढाको स्वागत र सचिव रुद्रबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभामा संघका कोषाध्यक्ष शिवकला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया