
काठमाडौं, २ पुस । खुकुरी रमले देशभर विशेष साङ्गीतिक अभियान चलाउने भएको छ ।
चर्चित साङ्गीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिनेगरी देशका विभिन्न स्थानहरूमा विशेष साङ्गीतिक अभियान चलाउन लागिएको कम्पनीले जनाएको छ । यो सम्भवतः हालसम्मकै सबैभन्दा पृथक र वृहत् साङ्गीतिक अभियान हुने दाबी गरिएको छ ।
पछिल्लो समयमा युवा पुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष साङ्गीतिक अभियान सञ्चालन गर्न लागेको बताएको छ ।
खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुराँ, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्सलगायत ठाउँहरूको छनोट गरी साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।
सङ्गीतका नयाँ कलाकारहरूलाई देशभरका दर्शकश्रोतामाझ परिचय गराउने र उनीहरूलाई उत्साहित गरी नेपाली गीतसङ्गीतको समेत प्रवद्र्धन गर्ने उद्देश्यले बृहत कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
देशका विभिन्न ठाउँमा गएर आर्बिटरीसँग आबद्ध कलाकारहरूले आफ्नो प्रस्तुती दिने छन् । आर्बिटरीले सङ्गीतसँग सम्बन्धित देशैभर आयोजना हुने हालसम्मकै ठूलो अभियानको आज शुक्रबारदेखि शुरू भएको छ ।
आफू नजिक पनि यस्ता कार्यक्रम आयोजना हुने भन्दै स्थापितसँगै नयाँ कलाकारहरूको प्रस्तुतिमा झुम्नका लागि तयार रहन सङ्गीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ ।
विशेष गरी युवाहरूमाझ परिचित र चर्चित आर्बिटरी ग्रुपसँग गीतसङ्गीतको प्रवद्र्धन र कलाकारहरूको उत्थानका लागि सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको लामिछानेको भनाइ छ ।

यस्तै, आर्बिटरीका संस्थापक वीपीन नकर्मीले सङ्गीत र कलाकारहरूलाई सहयोग गर्ने हेतुले आर्बीटरी ग्रुपले पुनः खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरू खुशी भएको बताए । ‘खुकुरी रमसँग सहकार्य गरी आर्बीटरीले पप, रक, स्लो रकलगायत गीतसङ्गीतका विविध विधासँग सम्बन्धित कलाकारहरूसँग अनुबन्ध गरी ३ महिने अभियान संचालन गर्न लागेको छ,’ नकर्मीले भने, ‘यो अभियानमा केही स्थापित कलाकारसँग उदाउँदा कलाकारहरूले समेत स्टेज सेयरिङको मौका पाउने छन् ।’
‘६२ वर्षदेखि ग्राहकको रोजाईमा पर्न सफल खुकुरी रमसँग सहकार्य गरी उदाउँदा कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित वृहत अभियान सञ्चालन गर्न लागेकोमा हामी उत्साहित छौं । यो अभियान गीतसङ्गीतको प्रवद्र्धन र देशका विभिन्न क्षेत्रमा बसोबास गर्नेहरूको मनोरञ्जनका लागि महत्वपूर्ण सावित हुने विश्वास समेत लिएको छु,’ नकर्मीले भने ।
खुकुरी रमले यसअघिका वर्षहरूमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो । सो मिसनलाई देशभरका सङ्गीतप्रेमीले निकै रुचाएका थिए ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ केही समयअघिदेखि स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन गरिएको छ । खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड भएको कम्पनीको दाबी छ ।















प्रतिक्रिया