बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अध्यक्षले प्रस्ताव गरेको खाकामा विरोध भए निर्वाचन हुन्छ : नेम्वाङ

दैनिक नेपाल २०७८ मंसिर १२ गते ११:४२

फाइल तस्वीर

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि ल्याउने प्रस्तावमा कसैको विरोध रहे तत्काल निर्वाचन प्रक्रिया आरम्भ हुने बताएका छन् ।

तर, सर्वसम्मति हुन्छ कि साँच्चिकै प्रतिस्पर्धा नै हुन्छ भन्ने अध्यक्षले प्रस्ताव ल्याएपछि हलले दिने प्रतिक्रियामा भर पर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले ल्याएको प्रस्ताव हलले पारित गर्यो भने अरु कोही पनि त्यसको विरुद्धमा नजाने विश्वास समेत नेम्वाङले व्यक्त गरेका छन् ।

यद्यपि, हलले सहमति गर्ने तर कोही व्यक्तिले म चुनाव उठ्छु भन्यो भने पनि निर्वाचन गर्ने उनको भनाइ छ । निर्वाचन लड्न चाहाने कसैलाई पनि रोक्ने वा हतोत्साहित पार्ने नीति कसैको नभएको उनले स्पष्ट पारेका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय अधिवेशन चितवनमा जारी छ । सौराहमा शनिबार भएको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएको छ ।

अध्यक्ष ओलीले आज केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलगायत प्रस्ताव पेश गर्ने कार्यक्रम छ । अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा चित्त नबुझे आज ती पदहरूमा निर्वाचन गर्ने एमालेको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित