शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ललितपुर कांग्रेसमा नाराबाजी, मदनको समूहद्वारा राणामाथि अभद्र व्यवहार

दैनिक नेपाल २०७८ मंसिर १२ गते १०:०८

ललितपुर, १२ मंसिर । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आइतबार सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस नेता उदयशम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो ।

मतदानका क्रममा प्रचार सामाग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षको भनाइ छ ।

राणापक्षका कार्यकर्ताहरूले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका थिए । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् ।

राणाको समर्थन श्रेष्ठलाई छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका छन् ।

पहिलो चरणमा सभापति पदका उम्मेदवार चित्रकारले ५०४, जितेन्द्र कुमार श्रेष्ठले ४७१ र मीनकृष्ण महर्जनले ३३६ मत पाएका थिए ।

निर्वाचनमा १३ सय २२ मत खसेको थियो । कांग्रेस विधानमा सभापतिका उम्मेदवारले विजयी हुन खसेको मतको पचास प्रतिशत बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित