बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महाधिवेशनमा ओलीको यस्तो छ तयारी, चित्त नबुझे निर्वाचन हुने

दैनिक नेपाल २०७८ मंसिर १२ गते ८:१९

सौराह, १२ मंसिर । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुने भएको छ ।

बन्दसत्रले पार्टी अध्यक्ष केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकांक्षी घनश्याम भुसालले ओलीलाई नेतृत्व चयन गर्न दिइएको अधिकारको विरोध गरेका थिए ।

दुई नेताको विरोध रहेपनि बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ ।

ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेताहरूले दाबी गरेका छन् ।

ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुनेछ । भीम रावल र घनश्याम भुसालसँग पनि सहमतिको प्रयास भइरहेको छ ।

विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ । १९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् ।

१ जना महासचिव र ३ जना उप–महासचिव रहनेछन् । ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित