शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमाले महाधिवेशन : आलोचनाको नाममा निजी जीवनलाई आघात पुर्‍याउन नपाइने

दैनिक नेपाल २०७८ मंसिर ११ गते १२:४८

चितवन, ११ मंसिर । नेकपा (एमाले)को दशौं महाधिवेशनका उम्मेदवार, मतदाता तथा महाधिवेशनमा संलग्न कोही पनि व्यक्तिको विषयमा आलोचना गर्दा व्यक्तिको निजी जीवनमा पुग्नसक्ने आघातप्रतिप्रति एमालेले सम्बन्धितलाई सचेत गराएको छ ।

नेकपा एमालेले १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गर्दै कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाएको हो ।

निर्वाचनसम्बन्धी जारी गरिएको ८ बुँदे आचारसंहितामा निर्वाचनका समयमा पालना गर्नुपर्ने सामान्य आचरणहरूको विषय समेत उल्लेख गरिएको छ ।

जसमा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरी कुनै क्रियाकलाप गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

त्यस्तै कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ ।

मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन । पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ ।

१०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरी लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए ।

एमालेको विधान (२०७८ को संशोधन सहित),२०४९ को धारा २६(५) (ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको बताइएको छ ।

आचार संहितामा अरु के–के नियम छन् ?

प्रतिक्रिया
सम्बन्धित