३ कार्तिक २०८३, मंगलबार

इराकी प्रधानमन्त्रीको हत्या गर्ने प्रयास

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, २१ कात्तिक । इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ ।

प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल भएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ ।

घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अस्पताल लागिएको थियो ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन् ।

उनले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गरेका छन् ।

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो ।

धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरूको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भर्त्सना गर्दै आक्रमणकारीहरुबाट अक्षम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ । –सिन्ह्वा