बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

युरोपा कन्फ्रेस लिगमा रोमाको लज्जास्पद हार

दैनिक नेपाल २०७८ कार्तिक ५ गते १३:२०

लण्डन, ५ कात्तिक । नर्वेयिजन युवा फरवार्ड इरिक बोथिमले दुई गोल गर्नुका साथै तीन असिस्ट दिएपछि युरोपा कन्फ्रेस लिगमा इटालियन क्लब रोमाले लज्जास्पद हार बेहोरेको छ । रोमाले नर्वेजियन क्लब बोडो ग्लिम्टसँग ६–१ को लज्जास्पद हार बेहोरेको हो ।

बोडोको जितमा इरिक बोथिम र ओला सोल्वाक्केनले समान दुई तथा प्याट्रिक वर्ग र एमहल पेलिग्रिनोले समान एक गोल गरे । रोमाका कार्लेस पेरेजले एक गोल फर्काए । गोलको वर्षा भएको खेलमा बोडोले खेलको आठौं मिनेटमा इरिक बोथिमको गोलबाट अग्रता लिएको थियो ।

२०औं मिनेटमा इरिक बोथिमको पासमा प्याट्रिक वर्गले गोल गर्दै बोडोको अग्रता दोब्बर पारे । २८औं मिनेटमा कार्लेस पेरेजले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५२औं मिनेटमा इरिक बोथिमले गोल गर्दै बोडोलाई ३–१ ले अघि बढाए । ७१औं मिनेटमा बोथिमको पासमा ओला सोल्वाक्केनले गोल गर्दै बोडोलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

७८औं मिनेटमा बोथिमकै पासमा एमहल पेलिग्रिनोले गोल गरेपछि बोडोले खेलमा ५–१ को फराकिलो अग्रता लियो । ८०औं मिनेटमा ओला सोल्वाक्केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौ गोल गर्दै रोमालाई ६–१ को लज्जास्पद हार चखाए । यो जितपछि बोडो समूह ‘सी’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित रोमा ६ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

यही समूहको अर्को खेलमा युक्रेनी क्लब जोर्याले बुल्गेरियाको पीएफसी सिएसकेए सोफियालाई १–० ले पराजित गरेको छ । जितपछि जोर्या ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा पीएफसी १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित