शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वकपको युरोपियन छनोटमा पोल्यान्डको गोलको वर्षा

दैनिक नेपाल २०७८ असोज २४ गते ६:४१

लण्डन, २४ असोज । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पोल्यान्डले सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।वार्सजावा पोल्यान्डमा घरेलु टोलीले खेलको १०औं मिनेटमा कारोल स्वीर्डेस्कीको गोलबाट अग्रता लिएको थियो । उनले प्रेजमिस्ल प्लाचेटाको पासमा गोल गरेका थिए ।

२०औं मिनेटमा क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेपछि पोल्यान्डले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा थोमस केड्जिओराले मिकेल हेलिकको पासमा गोल गर्दै पोल्यान्डलाई खेलमा ३–० ले अघि बढाए ।

८४औं मिनेटमा एडाम बुस्काले रोबर्ट गुम्नीको पासमा गोल गर्दै पोल्यान्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा क्रिस्टोफ पियाटेकले कास्पर कोजलोस्कीको पासमा गोल गर्दै पोल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।

यो जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित सान मारिनो अंकविहीन हुदै पुछारमा छ ।

यही समूह ‘आइ’ को खेलमा शीर्षस्थानमा रहेको अपराजित इंग्ल्यान्डले एन्डोरालाई ५–० ले तथा अल्वानियाले हंगेरीलाई १–० ले पराजित गरेको छ ।

इंग्ल्यान्ड १९ अंक जोडेर शीर्षस्थानमा रहँदा अल्वानिया १५ अंक जोडेर दोस्रो स्थानमा छ । हंगेरी १० अंकसहित चौथो स्थानमा रहँदा एन्डोरा ३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित