४ मंसिर २०८३, शुक्रबार

जनकपुरमा ‘टकला’लाई फाइदा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १८ असोज । बम विस्फोटको घटनामा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री संजय साह ‘टकला’को कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ ।

साढे नौं वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको मिथिला आन्दोलनमा भएको बम बिस्फोट घटनामा जन्मकैदको सजाय पाएका पूर्व मन्त्री सञ्जय साहको सजायलाई उच्च अदालत जनकपुरले उल्टाउँदै जन्म कैदको फैसलालाई घटाएर सात वर्ष सजाय हुने फैसला गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार अबेर राति उक्त फैसला गरेको हो। गत आइतबारदेखि नै हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको फैसला राय किताबमा आइतबार साँझ न्यायाधीशद्वयले लेखेका छन् ।

यसअघि सोही मुद्दामा धनुषा जिल्ला अदालतले साहलाई जन्म कैदको सजाय तोकेको थियो । उनी हाल नख्खु स्थित कारागारमा छन् ।

ज्यान मार्ने उद्योगमा ७ वर्षको सजाय र कर्तव्य ज्यान मुद्दामा मुख्य कसूरदार नभएर षडयन्त्रकारीको रुपमा मात्रै सजाय निर्धारण गरिएको छ । बम विस्फोटमा परेर ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएको थियो ।

विस्फोटमा परी जनकपुर नगरपालिका–१० बस्ने झगरुलाल दास कथबनिया, जनकपुर ८ बस्ने विमल शरण, महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रञ्जुदेवी झा, जनकपुर ८ बस्ने सुरेश उपाध्याय र दीपेन्द्र दास गरी कुल पाँच जनाको मृत्यु भएको थियो । विस्फोटनमा परेर ३२ जना घाइते भएका थिए ।

२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्रीसमेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।

साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा धनुषाको क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । बम काण्ड घटना भएपछि उनी मुख्य योजनाकारको आरोपमा पक्राउ परेका थिए ।