काठमाडौं, ११ असोज । दशैंका लागि काठमाडौं बाहिरका यात्रुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ ।
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टर समेत थप गरिएको छ ।
सरकारले दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै टिकट काउन्टर थप गरिएको छ ।
नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।
काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौलाले अग्रिम टिकट बुकिङ बिहान ७ बजेदेखि सुरु गरिएको बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।
सरकारले सार्वजनिक सवारीसाधनहरूको रुट इजाजत खुला गर्ने भएको छ । दशैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।











प्रतिक्रिया