शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेभित्रको अराजकता र गटबन्दी स्वतः अन्त्य हुनेछैन : महासचिव पोखरेल

दैनिक नेपाल २०७८ असोज ५ गते ११:४९

काठमाडौं, ५ असोज । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएका छन् ।

विधान महाधिवेशनमा पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक प्रस्तावमा माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने उल्लेख गरेका छन् ।

ठूला राजनीतिक परिवर्तन, राजनीतिक र सामाजिक द्वन्द्वपछि समाजमा एक प्रकारको अराजकताको स्थिति उत्पन्न हुने भन्दै उनले अन्तरपार्टी संघर्षको क्रममा वैधानिक सीमा मिचिँदाको अवस्थामा पनि यस्तो समस्या पैदा हुने उल्लेख गरेका छन् ।

संगठनात्मक प्रस्तावको मस्यौदामा उनले लेखेका छन्, ‘विगतमा नेकपा एमालेभित्र उत्पन्न अन्तर्विरोधलाई त्यहाँभित्र स्थापित प्रणालीले एक हदसम्म बाँधेर राखेको थियो, नेकपा माओवादी केन्द्रसँगको एकतापछि त्यो अवस्था रहेन ।’

माओवादीभित्र व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताको रुपमा संस्थागत भएको र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश गरेको उनको तर्क छ ।

‘विगतमा हाम्रो पार्टीले अघि बढाएको लोकतान्त्रिक अभ्यासले उन्नतस्तरको लोकतान्त्रिक संस्कृतिको माग गर्दछ तर, हाम्रो समाज र राजनीतिमा त्यो संस्कृति विकास हुन सकेको छैन, गर्न सकिएको छैन,’ प्रस्तावमा उनले भनेका छन्, ‘यसले पनि संगठनात्मक अराजकतालाई मलजल गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित