लहान, ५ असोज । सिरहा जिल्लामा श्रीमानको हत्या गरेको आरोपमा एक महिला र उनका प्रेमी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोलकी ३८ वर्षीय हरिहरदेवी महरा र उनका प्रेमी भारतको मधुवनी जिल्ला देउधाका २६ वर्षीय मुकेश यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
हरिहरलाई आइतबार पक्राउ गरिएको छ । भदौ १८ गते भारतको विहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा सिरहा गोलबजार–४ का ३९ वर्षीय दुखरन महरा मोचीको शव फेलापरेको थियो ।
अवैध सम्बन्ध र घरेलु हिंसाको कारण प्रेमीसँग मिलेर श्रीमतीले आफ्नो श्रीमानलाई भारतमा लगेर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
चार जना छोराछोरी रहेको दुखरन १० वर्षपहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।
कतारबाट फर्केपछि विदेशबाट पठाएको पैसा कहाँ खर्च गरेको भनेर मादक पदार्थ सेवन गरी श्रीमतीलाई बारम्बार कुट्ने गरेको खुलेको प्रवक्ता बुढाथोकीले बताए ।
श्रीमानको बारम्बारको यातनाको कारण हरिहरदेवीले २ पटक आत्महत्या गर्ने कोसिस गरेको तर, छोराछोरीको भविष्य सम्झेर आफू मर्नुभन्दा श्रीमानलाई मारे समस्या समाधान हुने सोँचेर हत्या गराएको हरिहरदेवीले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
दुई वर्षअघि उपचार गराउन भारत जाँदा एम्बुलेन्स चालक मुकेश यादवको प्रेममा परेकी हरिहरदेवीले श्रीमानले धेरै दुःख दियो, उसलाई मार्नुपर्यो भनी सल्लाह गर्दा प्रेमीले श्रीमानको हत्या गराउन भारतीय १ लाख रुपियाँ लाग्ने भनेका थिए ।
प्रहरी प्रवक्ता बुढाथोकी प्रेमीले एक लाख भारु भनेकामा आफूसँग त्यति धेरै पैसा नरहेको भन्दै ४०–५० हजारसम्म दिन सक्छु भनेर हत्याको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको बताएका छन् ।
श्रीमान्को हत्या गराउने उद्देश्यले हरिहरदेवीले घर खर्चको अभाव भयो ऋण निकाल्नुपर्छ भनी श्रीमानसँग सल्लाह गरी भदौ १७ गते छिमेक लघुवित्तबाट ६० हजार ऋण लिएकी थिइन् ।
ऋण लिएपछि आफूलाई सन्चो नरहेको भन्दै उपचारका लागि श्रीमानलाई भारत लगेकामा साँझ करिब ६ बजे जयनगर रेलवे स्टेसनमा प्रेमीसँगै तीन जनाले चिया खाएको र खाजा, नास्ता गर्न जाऊँ भनी प्रेमीले मोटरसाइकलमा राखी दुखरनलाई लगेर अन्य २ जना भारतीय नागरिकको सहयोगमा घाँटी काटेर हत्या गरेर ६० हजार रुपियाँ लिइ फरार भएको अनुसन्धानका क्रममा खुलेको छ ।
घटनापश्चात् हरिहरदेवी भदौ १८ गते बिहान जयनगरबाट आफ्नो घर गोलबजार फर्केकी थिइन् । सिरहा प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा घटनामा संलग्न प्रेमी पक्राउ परेका हुन् ।
भारतीय प्रेमीलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखी थप अनुसन्धान थालेको छ ।











प्रतिक्रिया