वीरगञ्ज, ५ असोज । पर्साको बहुदरमाई नगरपालिकाले सम्पर्क कार्यालय भनी सदरमुकाम वीरगञ्जमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई क्वाटर उपलब्ध गराएको छ ।
सम्पर्क कार्यालय भनी कोठा भाडामा लिएर प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई बस्न क्वाटर उपलब्ध गराएको हो ।
महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार लेखा प्रमुख बस्ने क्वाटरका लागि नगरपालिकाले मासिक ८ हजार रुपैयाँका दरले एक वर्षमा ९६ हजार भुक्तानी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृतका लागि लिइएको घरको भाडाबापत मासिक १२ हजारका दरले एक लाख ४४ हजार नगरपालिकाले नै तिरिदिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाभित्र मात्र खर्च गर्नुपर्ने व्यवस्था छ ।
प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई नगर क्षेत्रभन्दा बाहिरको घरभाडा भुक्तानी दिन मिल्ने व्यवस्था निजामती सेवा ऐन नियम तथा अन्य कुनै नियममा देखिएको छैन ।
पर्साकै जगरनाथपुर गाउँपालिकाले पनि सदरमुकाम वीरगञ्जमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ । गाउँपालिकाले मासिक भाडा दिने गरी गाउँपालिकाका लागि सम्पर्क कार्यालय खोलेको हो ।
वीरगञ्जमा खोलिएको सम्पर्क कार्यालयका लागि मासिक १८ हजार गरी वार्षिक २ लाख १६ हजार रुपैयाँ गाउँपालिकाले भुक्तानीसमेत दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ०७८ सालको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।











प्रतिक्रिया