४ मंसिर २०८३, शुक्रबार

एमाले निकटको निजामती कमर्चारी संगठन विभाजन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । एमालेको कर्मचारी भ्रातृ संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजन भएको छ ।

आन्तरिक विवाद भएपछि कर्मचारी संगठन ३१ वर्षपछि विभाजन भएको हो ।

माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरेर खाली ठाउँमा आफू निकटका कर्मचारीहरूलाई मनोनीत गरेका छन् । मनोनीत गरेपछि कर्मचारी संगठन विभाजन भएको हो ।

एमालेका अध्यक्ष ओली निकटको कर्मचारी संगठनको अध्यक्षमा केदार देवकोटालाई मनोनीत गरिएको छ । देवकोटा यसअघि पनि अध्यक्ष थिए ।

माधव नेपाल निकटको कर्मचारी संगठनले रेवन्त गौतमलाई अध्यक्ष बनाएको छ । गौतम यसअघि महासचिव थिए ।

माधव नेपाल निकट कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायत १० जना कर्मचारीहरूलाई संगठनबाट कारबाही गरेको घोषणा गरेका छन् ।

दुबै पक्षले आधिकारिक ट्रेड युनियनमा फरक–फरक नाम पठाएका छन् । ओली निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाएका छन् ।

युनियनमा माधव नेपाल निकट कर्मचारीहरूले मोहन घिमिरेलाई पठाएका छन् । ओली निकट कर्मचारीहरूले माघ ७ र ८ गते संगठनको महाधिवेशनको मिति तोकेका छन् ।

ओली निकट कर्मचारीहरूले माधव नेपाल निकट कर्मचारीहरूले सङ्गठनको माइन्युटिङ र लेटर प्याड चोरी भएको आरोप लगाएका छन् ।

२०४७ सालमा नेपाल निजामती कर्मचारी संगठनको स्थापना भएको थियो । २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा एमालेको संगठनले सबैभन्दा बढी भोट ल्याएको थियो ।