१८ कार्तिक २०८३, बुधबार

इन्स महिला समितिद्वारा तीजबारे सांस्कृतिक बहस आयोजना

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले ’तीज विषयक साँस्कृतिक बहस’ कार्यक्रम आयोजना गरेको छ ।

समितिले शनिबार भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. विद्यनाथ कोइराला, प्रा.डा. सावित्री मल्ल र उपप्राध्यापक ज्ञानु अधिकारीले तीजका चौतर्फी आयामका बारेमा बहस गरेका थिए ।

प्रा.डा. कोइरालाले तीजको छुट्टै शास्त्रीय तथा वैज्ञानिक महत्व रहेको धारणा राख्दै मानव शरीर र मनलाई उर्जा दिने अनेकौँ साधनामध्ये एक माध्यम तीज पनि भएको कुराको विवेचना गरे ।

त्यस्तै, कार्यक्रममा साँस्कृतिकविद् समेत रहेकी प्रा.डा. मल्लले तीज हिन्दुहरूको मात्र नभएर समग्र नेपाली महिलाहरूको चाड हो भन्दै तीजका गीतले महिला सशक्तीकरण र सामाजिक रूपान्तरणको आवाज उठाउनुपर्ने कुरामा जोड दिइन् ।

वक्ता अधिकारीले तमाम विकृतिहरूलाई हटाउँदै तीजलाई सांस्कृतिक पर्वको रूपमा मनाउनु पर्ने धारणा व्यक्त गरेकी थिइन् । विभिन्न महिलाहरुको पृथक धारणा रहे पनि तीजको सांस्कृतिक महत्वमाथि वक्ताहरुले प्रस्ट पारेका थिए ।

कार्यक्रममा रक्षा नेपालका छोरीहरूले तीज विशेष साँस्कृतिक गीत–नृत्य प्रस्तुत गरेका थिए भने सोम अनुराग बस्नेत, डा महालक्ष्मी अधिकारी, नमिता दवाडी र बिन्दा पराजुलीलगायतले कविता तथा गजल वाचन गरे थिए ।

कार्यक्रमको सभाध्यक्ष तथा समितिका अध्यक्ष डा रेणुका सोलुले, यो पितृसत्तात्मक समाजमा पुरूषहरू महिलामैत्री हुनु भनेको मानवमैत्री हुनु हो त्यसैले महिला र पुरुषको समानताले मात्र समुन्नत समाज निर्माण हुने विचार व्यत्त गर्दै कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यबाद ज्ञापन समेत गरिन् ।

रक्षा नेपालका छोरीहरूको साँंगीतिक प्रस्तुतिको उच्च प्रशंसा गर्दै अध्यक्ष सोलुले प्रोत्साहन स्वरूप २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने पनि बताइन् ।

कार्यक्रममा संसारभरबाट नेपालीहरुले सहभागीता जनाएका थिए । कार्यक्रमको संचालन समितिका महासचिव सुभद्रा भण्डारीले गरेकी थिइन् भने सचिव लिली अधिकारीले स्वागत गरेकी थिइन् ।

त्यसैगरी इन्स भाषा साहित्य समिति अध्यक्ष डा जानुका नेपाल पौडेल र अन्तर्राष्ट्रिय समिति महिला उपाध्यक्ष नीतु खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले मोतीराम जयन्तीको अवसरमा पनि कार्यक्रम गरिने जानकारी दिए । उनले भने “१५६ औं मोती जयन्तीको अवसर पारेर न्युजिल्यान्ड साहित्य समाज, विश्व नेपाली विध्यावारिधि संघ र अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको संयुक्त पहलमा गजलका शिखर पुरुषहरू भेला गराइ वहर र गैर वहर गजलसम्बन्धी बृहत् अन्तर्कृया गरिनेछ ।”