
काठमाडौँ, २२ भदौ । संखुवासभाको मादी नगरपालिका १, उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ ।
सदरमुकामबाट दुर्गममा पर्ने उम्लिङमा आइतबार राति भएको घटनामा संलग्नबारे हालसम्म कुनै तथ्य फेला परेको छैन ।
प्रहरीले यसबारे स्थान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
घर मूली ८५ वर्षीय बौद्धमान कार्की बाहेक सामूहिक हत्या भएकाहरूमा श्रीमती पार्वता कार्की (८४ वर्ष), छोरा तेजबहादुर कार्की (५२), बुहारी कमला कार्की (५२), नातिनी बुहारी रञ्जना कार्की(३२), पनाति विपिन कार्की( ८) र पनातिनी गोमा कार्की (५) छन् ।
उनीहरु ६ जनाको शव ४ फरक स्थानमा भेटिएको थियो ।
उनीहरु चप्पल पनि यत्रतत्र छरिएकाले लखेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।
सबैजनाको शव घोप्टो परेको अवस्थामा भेटिुनले कुनै पेसेवरको हात रहेको हुनसक्ने अनुमान गरिएको छ । त्यस्तै, प्रहरीले भने चिनजानकै मानिसको संलग्नतालाई औँल्याइरहेको छ ।
बौद्धमानका नातीहरु वैदेशिक रोजगारमा गएका र कमाएको पैसाले तराइमा जग्गा जमिन किनेर बस्ने योजना कार्की परिवार रहेको स्थानीयले बताएका छन् ।
उनीहरुले झापामा ८० लाख रुपैयाँको जग्गा किन्न बैना समेत गरेको स्थानीयको भनाइ छ ।
यस हत्याका पछाडी प्रहरीले कारण खोतल्ने प्रयास गरिरहेको छ । जसका पछाडी निकै कारण हुन सक्छन् । जसमध्ये पैसाकै कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीयहरु कार्की परिवार मिलनसार रहेको र कसैसँग रिसिइवी नभएको बताउँछन् ।
त्यस्तै, स्थानीय जनप्रतिनिधिहरुका अनुसार तीज सकिने बित्तिकै जग्गा किन्न झापा जाने कुरा रहेको बताउँछन् ।
सामूहिक उपराधीहरुको समूहले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहे पनि कति जनाको संख्याले घटना घटाएको भन्नेबारे प्रहरी अनुसन्धानरत रहेको छ ।
प्रहरीका अनुमानअनुसार हत्यामा एक जना भन्दा बढीको संलग्नता रहेको देखिन्छ ।
विराटनगरबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको विशेष अनुसन्धान टोली र धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
‘ट्रयाकर डग’ (तालिम प्राप्त कुकुर) लैला र पिकु सहभागी छन् । उनीहरुले घटनास्थलको गन्ध सुँघेर अपराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त कुकुर हुन् ।












प्रतिक्रिया