१८ कार्तिक २०८३, बुधबार

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछः ऊर्जामन्त्री भुसाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् ।

निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताए ।

मन्त्री भुसालले भनिन्, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।”

औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै मन्त्री भुसालले भनिन्, “देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउँदै मन्त्री भुसालले भनिन्, “भूक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नुपरेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पु¥याएको छ ।”

उनले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरे ।

उनले वृक्षरोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षरोपण गरी आफ्ना बस्तीलाई वातावरण मैत्री बनाउन आग्रहसमेत गरे ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षरोपण गरिएका वृक्षको उचित संरक्षण गरिने आश्वासन दिँदै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिए । सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षरोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताए ।

वडाध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षको संरक्षण गरिने प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा इन्द्रायणी उद्यानमा चार दर्जनभन्दा बढी विभिन्न जातका वृक्ष रोपिएका छन् । –रासस