
काठमाडौँ, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर अरुलाई कम्फर्टेबल बनाएको प्रति कटाक्ष गरेका छन् ।
काठमाडौँमा शनिबार पार्टीको एक समारोहमा सम्बोधन गर्दै उनले माधव नेपालले नेकपा एस पार्टी नभएर काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको बताए ।
उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउँ गर्दै ढुक्नलाई पुगेका छन् ।’
ओलीले वैचारिक विषयमा पार्टी नफुटेको बताए । पहिलैदेखि झमेला गर्दै आएकाहरु पदका लागि अलग्गिएको ओलीको भनाइ छ ।
उनले भने–‘कतिले भन्ने गरेका छन् एमाले फुटेको छ टुटेको छ, अझै ठुलो भुँइचालो जानेछ भनेर आस गरेका छन् । अहिले पाटी फुटेको हैन, पार्टीमा बिग्रिएकाहरू जो विगतदेखि नै पार्टीमा अनेक झमेला गर्दै आएका थिए ती चोइटिएका मात्र हुन् ।’
उनले थने–‘ यिनीहरू पञ्जावका लङ्गुर बाँदरका झुण्ड जस्तै हुन् । खानका लागि गएका झुन्ड हुन् । हाम्रो पार्टीबाट जानेहरूले कहिल्यै पाटीभित्र वैचारिक लडाइँ गरे ? नीति सिद्धान्त बिचारका केही फरक छ ? खाली मलाई यो पुगेन त्यो पुगेन भनेको छ ।’
उनले माधव नेपाल प्रति लक्षित गर्दै भने–‘कहिले प्रधानमन्त्री बन्न पाउन भनेर राजाको वरिपरि दाम चढाएर हिँडेको छ, कहिले हुलाकबाट प्रधानमन्त्री बन्न पाउँ भनेर पत्र पठाएको पनि छ । यस्ता अनेक खालका तमासा गरिएको छ । २ सय ४० सिट भएको बेला पार्टीलाई ३३ सिटमा ल्याएर खुम्चाएको छ । मैले केही गर्न सकिन भनेर राजीनामा दिएको मान्छेलाई फेरी भाग चाहिएको छ । त्यस्ता केही तत्त्वहरू पार्टी छोडेर गएका हुन् ।’
त्यस्तै, उनले वामपन्थी सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन माधव नेपाल लागेको बताए ।
उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए अहिले त्यो भाँचेको भाँच्यै छ, जुन पिर्कामा बसेको छ त्यो भाँचेको छ । हिजो जुन मन्दिर बनायो त्यसमा थुकेको थुक्यै छ । माधव नेपाल जस्तो शरम पचेको मान्छे मैले अहिलेसम्म कतै देखेको छैन ।’
त्यस्तै, अध्यक्ष ओलीले वामदेव गौतम प्रति पनि कटाक्ष गरेका छन् ।
उनले भने–‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’
त्यस्तै, ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसी के गर्ने भनेर जवाफ पनि मागेका छन् ।
ओलीले हिजो आफैले हस्ताक्षर गरेको एमसीसी सम्झौता अब के गर्ने, किन मुख नखोलेको भन्दै प्रस्ट पार्न सार्वजनिक रुपमा उनीहरुलाई प्रश्न गरे ।
ओलीले भने, ‘यिनै काँग्रेस र माओवादी हैनन् हिजो एमसीसी सम्झौता गर्ने ? अहिले किन बोल्दैनन् ? झुक्याएर पास गर्न खोजेको ? के गर्ने हो बोल्दैनन्, भन्दैनन् । यिनीहरूले सम्झौता गरेको एमसीसी के गर्ने यिनीहरूले जनताका अगाडि भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले एमसीसी के गर्ने भन्नुपर्दैन हिजो हस्ताक्षर गर्नुभएको थियो त । उहाँहरू चुपचाप हुनुहुन्छ ।’
त्यस्तै, चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताउँदै ओलीले सरकारले कसलाई खुशी पार्न विवादको विषय उठाएको भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो रे ? कसलाई खुसी पार्न ? यो सरकारलाई चुनौती दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद देखाओस् ।’












प्रतिक्रिया