
मकवानपुर, १८ भदौ । मकवानपुरको हेटौँडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई सिल गरिएको छ ।
म्याद नाघेको चियापत्तीलाई रेड लेवल ब्राण्ड बनाएको भेटिएपछि सिल गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका–३, बसामाडीमा अवस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रमा भदौ १५ गते लेबल नभएको र म्याद गुज्रिएको चियापत्ती भेटिएको थियो ।
त्यसपछि स्थानीय प्रशासनले कम्पनीलाई सिल गरेको हो ।
विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको टोलीले अनुगमन गर्दा त्यस्तो भेटिएपछि सिल गरिएको जनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका अनुसार पुनः प्याकेजिङ गरेर विक्री गर्ने गरी भण्डारण गरी राखिएको ९२० बोरा (३२ टन २ सय केजी) सिटीसी चिया भेटिएपछि कम्पनीमा सिल गरिएको हो ।
लेबल प्रतिकूल भएका खाद्यवस्तुहरु उपभोक्ताकोमा नपुगोस् भनेर सील गरिएको बताइएको छ ।
भण्डारण गरिएको चियापत्तीको प्यकेटमा उत्पादन मिति २०१९ उल्लेख छ भने उपभोग अवधि १८ महिना उल्लेख छ ।
यसरी म्याद सकिएका खाद्यवस्तु बिक्री गर्नु गम्भीर अपराध भएको सरोकारवालाहरुले जनाएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न निर्देशन दिएइसकेको भए पनि युनिलिभरले त्यस्ता चियापत्ती नष्ट गर्नुको साटो पुनः प्याकेजिङ गरी बजारमा पठाउने गरेको पाइएको हो ।












प्रतिक्रिया