
काठमाडौँ, १६ भदौ । सरकारले चीनसँगको सीमा समस्या अध्ययन गर्न समिति बनाएको छ ।
वुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको हो ।
बैठकपछि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयको समस्या बारे अध्ययन गरि प्रतिवेदन बुझाउने जानकारी दिए ।
त्यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गर्न पनि प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सम्मिलित समिति गठन गरेको छ ।
त्यस्तै, बैठकले मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डा.विक्रान्त ढकाल र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।
त्यस्तै निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ ।
त्यस्तै, सरकारले केपी ओली नेतृत्वको सरकारले बढाएको ३३ प्रतिशत सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ ।
सरकारले दीगो तथा सम्मानित रोजगारीको लागि सञ्चालित सीप परियोजनाको लागि स्वीस सरकारको अनुदान सहायता करिब १ अर्ब ९३ करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।
सरकारले पाकिस्तानको माउन्ट के–२ को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरुप जनही १ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया