बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वर्णीम युगमार्फत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

एसपी उप्रेती २०७८ भदौ १४ गते २२:४२

-एसपी उप्रेती

काठमाडौँ, १४ भदौ । स्वर्णीम युग फान्डेशनले प्रणवानन्द आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वि. सं. २०५३ सालदेखि विपन्न वर्गका विद्यार्थीहरुलाई अध्यापन गराइरहेको आश्रममा आवासीय रुपमै रहने ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनले प्रत्येकलाई एक थान ब्याग, नौ थान कापी, एक प्याकेट पेन्सिल, १० वटा मास्क, एक थान स्यानिटाइजर विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार अभियान अन्तर्गत सहयोग गरेको हो ।

त्यसैगरी, फाउन्डेशनले आश्रमका शिक्षकशिक्षिकाहरुलाई खेम शर्माद्वारा लिखित स्वर्णीम रहस्य पुस्तक प्रदान गरेको छ ।

कसरी जीवनका हरेक आयामहरुलाई व्यवस्थित र सन्तुलित गर्दै अघि बढ्ने भन्ने व्यवहारिक अनुभवहरु प्रस्तुत रहेका पुस्तकले शिक्षकहरुमा सकारात्मकता विकास गराउने विश्वास फाउन्डेशनले लिएको छ ।

आश्रममा आवासीय रुपमा रहेका विद्यार्थीहरुका लागि अस्ट्रेलियामा रहेका इन्जिनियर अनन्त एलेक्स कार्की र नेपालमा प्रोग्रामीङ गर्ने कृष्णा थापाले शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

बिगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका कार्की अष्ट्रेलियन सरकारको सडक विभागमा इन्जिनियरको रुपमा कार्यरत छन् । कार्की यो तहको पदमा पुग्ने थोरै नेपालीहरू मध्येमा पर्दछन् । सिड्नी सिटी लाइट रेलका इन्जीनियर कार्कीले एनआरएनए ओसिनियाको ग्लोबल कन्फ्रेन्समा इन्टरनेशनल ट्राफिक म्यानेज्मेन्ट सिष्टम र रोड सेफ्टीको बारेमा प्रस्तुत गरेको पेपरले स्याबासी पाएको थियो । कार्कीले ३० सेट शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

त्यस्तै, आधा दशक भन्दा बढी समयदेखि वेब डिजाइनिङ हुँदै प्रोग्रामिङ गर्न थालेका थापा मेगाबाइट टेक प्रालिबाट आफ्ना सेवा प्रदान गर्छन् ।

जसमा वेब डिभलपिङ, कन्टेन्ट लेखन मोबाइल निर्माण लगायत कार्यहरु पर्दछन् । थापाले १० सेट शैक्षिक सामाग्री विद्यार्थीहरुका लागि सहयोग गरेका हुन् । मन्तव्यका क्रममा थापाले आफूहरुबाट भएको सहयोग विद्यार्थीहरुले सदुपयोग गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

आश्रमका प्रधानाध्यापक राजाराम यादवले फाउन्डेशनले गरेको सहयोग अति आवश्यकीय सहयोग भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । साथै, आउँदा दिनमा संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यर्थाीहरु सबैले ओम् उच्चारण, गायन्त्री मन्त्र र महामृत्युन्जय मन्त्र वाचन गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित