
काठमाडौँ, १३ भदौ । प्रहरीले ९ करोड रुपैयाँ बराबरको कोकिनसहित ३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न मितिमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानियाका नागरिकलाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दक्षिण अफ्रिकन नागरिक सिर्ले गामालाई २ किलो ९६६ ग्राम कोकिनसहित भदौ ३ गते कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो ।
गामा भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत केपटाउनबाट दोहा हुँदै नेपाल आएको अवस्थामा पक्राउ परेकी हुन् ।
त्यस्तै, गामासँगै कारोबारमा संलग्न आरोपमा भारतको बैंकलोरका विजय सिंहलाई पनि प्रहरीले भदौ ८ गते कमलादीबाटै पक्राउ गरेको थियो ।
ब्युरोको अनुसार कारोबारमा संलग्न तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको छ ।
बरामद कोकिनको मूल्य ९ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । त्यस्तै, संलग्न व्यक्तिमाथि १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया