लमजुङ, २३ असार । जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् ।
दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै सङ्ख्यामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
अहिले अस्पतालमा दैनिक एक सयभन्दा धेरै जनाले बहिरङ्ग सेवा लिइरहेका छन् । ‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रूपमा पानीजन्य रोगका बिरामी बढी छन्’, अस्पतालका प्रमुख श्रेष्ठले भने ।
अन्य स्वास्थ्य समस्याका २० जनाका सङ्ख्यामा बिरामी भर्ना भई उपचाररत रहेको पनि उनले बताए ।
अस्पतालमा छुट्टाछुट्टै स्वास्थ्यकर्मीको समूह बनाइ कोरोना सङ्क्रमित र सामान्य रोगका बिरामीको उपचार गरिएको अस्पतालका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार अस्पतालका सबै सेवा दैनिक रूपमा प्रवाह भइरहेको छ ।















प्रतिक्रिया