बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई खोप होः शिक्षामन्त्री श्रेष्ठ

दैनिक नेपाल २०७८ जेठ २९ गते १९:५५

काठमाडौँ, २९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

शनिबार काठमाडौँको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।

राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाई छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका लागि प्रयोग गरिने जिकिर गरे ।

उनले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको उपचारका लागि कुनै स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । निरिक्षणका क्रममा अस्पतालका पदाधिकारीले कोरोना उपचारका लागि देखिएको समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

राजधानीको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनदेखि लिएर आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।

राजधानीको भित्रि बस्तीमा रहेको सो चिकित्सालयले कोरोना महामारीको समयमा प्रवाह गरेको सेवा प्रवाह प्रशंसनीय रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अस्पतालको सेवा प्रवाहलाई अझ चुस्त बनाउन आवश्यक सहयोग गर्न सरकार तत्पर रहेका बताए ।

सो अवसरमा मन्त्री श्रेष्ठले विदेशबाट आएको स्वास्थ्य सामग्री पाउने नेपाल सरकारको सूचीमा चिकित्सालयको नाम पनि रहेको जानकारी दिए ।

‘यस चिकित्सालयले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट लगायत अन्य पूर्वाधारमा सघाउन मैलै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई पनि भनेको छु । समय मिलाएर स्वास्थ्य मन्त्री पनि अवलोकन भ्रमणमा आउने कुरो भएको छ । उनले भने– चिकित्सालयबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर बढाउन सरकारले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ शैय्याको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा पनि उनले प्रशंसा गरे । अहिलेको महामारीको समयमा जनताको जीवन बचाउन राज्यका सबै निकाय, संघसंस्था सहकार्य गरी अघि बढ्नुपर्ने खाचोलाई यहाहरुले पहिले महसुश गरेर कार्यान्वयन गरिरहेका छन् ।

त्यो साह्रै सराहनीय रहेको उनको भनाई थियो ।

सो अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिका लगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताए ।

संक्रमणको जोखिम तीब्र रहेको बेला एकातिर सरकारी अस्पतालमा बेड, अक्सिजन नपाएर मानिसहरु निकै कष्ट व्यहोर्नु परेको र अर्कोतिर निजी अस्पतालमा अति महंगो शुल्कले गर्दा स्वास्थ्य सेवा नपाएको अवस्थामा चिकित्सालयले सहज रुपमा सेवा प्रदान गरी धेरैको ज्यान बचाउन सफल भएको पनि डा श्रेष्ठको भनाई रहेको छ ।

अस्पतालको सेवा प्रवाहलाई अझ गुणस्तर र चुस्त बनाउन अक्सिजन प्लान्ट बनाउने, पूर्वाधार बनाउने याजना कार्यान्वयन गर्ने चरणमा रहेको जनाउदै उहाले सो कार्यको लागि सरकारले यथासक्य सहयोग गर्न माग गरे ।

महानगरपालिकासँग सहकार्य गरेर स्वास्थ्य सेवालाई अझ जनमुखी बनाउने काम भइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले सो कार्यमा केन्द्र सरकारको पनि सहयोगको अपेक्षँ गरे ।

कामपा– २५ वडाका वडाअध्यक्ष निलकाजी शाक्यको समेत उपस्थिति रहको सो कार्यक्रमका महानगरपालिका– १७ वडाका वडाअध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखे ।

अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउने सरकारी र सामुदायिक अस्पतालसग सहकार्य गर्ने महानगरको नीति अनुरुप जेठ १२ गते चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैया व्यहोर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित