शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७८४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

दैनिक नेपाल २०७८ जेठ २९ गते १९:११

काठमाडौँ, २९ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ४ सय ५८ वटा गाडी र १ हजार ३ सय २६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’

कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ४ सय ९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ४ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ४ हजार ८ सय ६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ५५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय १४ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित