६ कार्तिक २०८३, शुक्रबार

एमालेको विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्दै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालद्वारा गठित विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने बैठकमा ठोस कुराकानी भने नहुने बताइएको छ । कायर्दल सदस्य शंकर पोखरेल दाङ गएका तथा भीम रावलको आँखामा समस्या भएका कारण कार्यदलका सबै सदस्य उपस्थित नहुने अवस्थामा ठोस कुराकानी नहुने बताइएको छ ।

यद्यपि, सामान्य भेटघाटका लागि बैठक बोलाइएको बताइएको छ । यसअघि हिजो पनि बैठक बस्ने भनिएको थियो, तर भीम रावल अस्वस्थ भएका कारण बैठक बस्न सकेको थिएन ।

आइतबार गठित कार्यदलमा संस्थापन र असन्तुष्ट पक्षका पाँच–पाँच जना सदस्य छन् । कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै असन्तुष्ट पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

नेकपाको एकता भंग भएर ब्युँतिएको एमालेको सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको एउटा समूह असन्तुष्ट बन्दै आएको छ ।

कार्यदलले पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनबाट रोक्ने अपेक्षा गरिएको छ ।