
काठमाडौं, ३ जेठ । बहुदलीय जनबाद (जबज)का प्रणेता भनेर चिनिने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २८औं स्मृति दिवस आज मनाइएको छ ।
नेकपा (एमाले)का नेताहरुले भण्डारीको शालिकमा माल्यार्पण गरेर उनको सम्झना गरेका छन् । उनको सम्झनामा विगतमा भव्य कार्यक्रमहरु आयोजना गर्ने गरिएको भए पनि यो वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन ।
यद्यपि नेताहरुले पालैपालो उनको शालिकमा पुगेर माल्यार्पण गरी उनको स्मृति दिवस मनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका एमाले नेताहरु तत्कालीन पार्टी कार्यालय रहेको बल्खु पुगेर मदनको शालिकमा माल्यार्पण गरेका छन् ।
कोभिड महामारी र निषेधाज्ञाका कारण शीर्ष नेताहरुमात्र उपस्थित भएर श्रद्धाञ्जली दिएका छन् भने कसैले पनि कुनै मन्तव्य व्यक्त गरेनन् । प्रधामन्त्री ओलीले सोमबार बिहान साढे ९ बजे पुगेर मदनको सालिकमाथि माल्यार्पण गरे ।
त्यसपछि महासचिव ईश्वर पोखरेलले मदनप्रति श्रद्धान्जली अर्पण गरे । पोखरेलपछि हालै माओवादी केन्द्र छाडेर एमाले गएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि मदनप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।
तर, बरिष्ठ नेता माधवकुमार नेपालल भने माल्यार्पणका लागि बल्खु नपुगेको बताइएको छ । नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाल बल्खु पुगेर शालिकमा माल्यार्पण गरेका भए पनि नेता नेपाल भने गएनन् ।
एमाले स्रोतका अनुसार उनलाई पनि बिहान प्रधानमन्त्री ओलीसँगै बल्खु जानका लागि सूचीत गरिएको थियो तर बोलाइएको समयमा नेपाल त्यहाँ पुगेका छैनन् । समय फरक पारेर नेता नेपाल माल्यार्पणका लागि पुग्ने आँकलन गरिएको छ ।
भण्डारीको २८ वर्षअघि आजकै दिन चितवनको दासढुंगामा सहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो ।















प्रतिक्रिया