
काठमाडौं, ३१ वैशाख । तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार तनहुँको आबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित सडकमा प्रदेश ०२–०१८ प. ७८९३ नम्बरको मोटरसाइकललाई ग. १ क २८७७ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा घर भएका २७ वर्षीय सुरज बुढाथोकीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनी हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरिफाटास्थित सडकमा से. १ त ४४४१ नम्बरको ट्याक्टरले से. ३ प ३००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रकाश रोकाया र सोही ठाउँ बस्ने २६ वर्षीय सुरज जप्रेल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी चितवनको भरतपुर महानगरपालिका–११ बिशाल चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहोन्द्र खोलामा को. १ त ४९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका–७ बस्ने ३५ वर्षीय दिल कुमार मुडयारीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया