शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

‘एमाले पार्टी २०७५ जेठ २ मा फर्किनु हुँदैन, सुकेका पात झर्छन् चिन्ता नगरौं’

दैनिक नेपाल २०७८ वैशाख २८ गते १३:०२

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमाले २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनै नहुने बताएका छन् ।

पार्टीलाई पछाडि नभई अगाडि बढाउनुपर्ने तर्क गर्दै थापाले बरु २०७८ जेठ २… तर्फ पार्टी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । माधव–झलनाथ समूहलाई लक्षित गरी सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै थापाले आफ्नो सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुन नसक्ने पनि बताएका छन् ।

पार्टीभित्रका असन्तुष्ट पक्षलाई ‘सुकेका पात’को संज्ञा दिँदै थापाले ट्विटरमा लेखेका छन्, ‘पार्टी २०७५ जेठ २ मा फर्किनु हुँदैन, २०७८ जेठ २ तर्फ अघि बढ्नुपर्छ । आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुन सक्दैन । नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन चिन्ता नगरौं ।’

उनले पार्टी रहे नेताहरु जति पनि उत्पादन गर्न सकिने भन्दै केही नेताहरु बाहिरिँदैमा पार्टीमा नेताको अभाव नहुने आशय समेत व्यक्त गरेका छन् ।

असन्तुष्ट माधव–झलनाथ समूहले नेकपाको एकता भङ्ग भई ब्युँतिएको एमाले २०७५ जेठ २ गतेको अवस्थामा पुर्याएर फर्काउनुपर्ने अडान राख्दै आएका छन् । तर, उनीहरुले नेकपा छँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर र एमाले–माओवादी ब्युँतिसकेपछि पनि माओवादी केन्द्रतिर लागेर एमाले सिध्याउन खोजेको आरोप एमाले संस्थापन पक्षले लगाउँदै आएको छ ।

पार्टी दुई वटा भइसक्दा पनि माओवादी केन्द्रको कार्यालयमा बसेर बैठक गर्ने, निर्णय गर्ने र पार्टीमा फर्किन पुष्पकमल दाहालसँग अनुमति मागेर मात्रै आउने रणनीति अपनाएका माधव–झलनाथ समूहमाथि पार्टीप्रति गद्दार गरेको आरोप पनि लाग्दै आएको छ ।

त्यसमाथि सोमबार आफ्नै पार्टीका प्रधानमन्त्रीको सत्ता ढाल्न विपक्षीहरुलाई सहयोग गरेपछि संस्थापन पक्ष थप आक्रोशित र आक्रामक बनेको छ । फलस्वरुप थापाको यस्तो टिप्पणी आएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित