बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नयाँ सरकार गठनमा जसपा सहभागी नहुने भएपछि बाबुराम र उपेन्द्रलाई छटपटी !

दैनिक नेपाल २०७८ वैशाख २८ गते १२:३०

काठमाडौं, २८ वैशाख । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र नयाँ सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी छिन् ।

सोही अनुरुप संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस, अर्को दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरु सत्तासमीकरणको तयारीमा रहेकै बेला जसपाले भने नयाँ सरकार गठनमा आफूहरुको संलग्नता नरहने बताएको छ ।

पार्टीभित्रैको एउटा समूह (उपेन्द्र–बाबुराम) नयाँ सरकारको पक्षमा छ भने अर्को समूह (महन्थ–राजेन्द्र) नयाँ सरकार गठनमा सहभागी नहुने बताउँदै आएको छ । जसपा नयाँ सत्ता समीकरणमा लाग्न नसक्ने अवस्था बनेसँगै नयाँ सरकार गठन हुने सम्भावना तत्काल न्यून बेनेको छ ।

नयाँ सरकार गठन नहुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका तथा तुरुन्तका तुरुन्त ओलीलाई सत्ताच्युत गर्नुपर्ने धारणा बारम्बार सार्वजनिक गर्दै आएका जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवमा यतिबेला छटपटी शुरु भएको छ । ओलीको सरकार ढालेर आफू अनुकुलको सत्ता निर्माणको सपना देखेका यी दुई नेताको इच्छा पूरा नहुने भएपछि उनीहरुमा छटपटी शुरू भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष भट्टराईले सोमबार मात्रै पनि ओलीलाई तत्काल बिदाइ गर्नुपर्ने बताएका थिए । जतिबेला ओलीले संसदमा विश्वासको मत लिइरहेका थिए ।

तर, ओलीले विश्वासको मत गुमाएसँगै सोमबार राति नै पार्टीका प्रथम अध्यक्ष समेत रहेका महन्थ ठाकुरले प्रेस वक्तव्य जारी गरेर जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने स्पष्ट पारिसकेका छन् । ठाकुरले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराउने समेत बताइसकेको छ ।

त्यसलगत्तै आज मंगलबार बिहान ट्विट गर्दै संघीय परिषद् अध्यक्ष डा. भट्टराईले लेखेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन : मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दा माथि उठ्नैपर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’

जसपाले राष्ट्रिय भूमिका निभाउनुपर्ने भन्दै उनले अब बल दलहरुको कोर्टमा आएकाले लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायत राष्ट्रिय समस्याहरुको हल गर्न नयाँ सरकारको आवश्यकता औंल्याएका छन् ।

तर, उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीविरोधी गठबन्धनमा उभिएका भए पनि उनीहरुले दलको प्रतिनिधित्व नगर्ने भएकाले व्यक्तिगत रुपमा पक्ष वा विपक्षमा उभिनुको अर्थ नरहेको जसपाकै नेताहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित