शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१औं वर्षमा प्रवेश

दैनिक नेपाल २०७८ वैशाख २१ गते १५:०९

काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ ।

२०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।

देशले भोगिरहेको विद्यमान विषम परिस्थितिको सामना गर्न अग्रपङ्क्तिमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्न आपूर्तिलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई कम्पनीले उच्च सम्मान प्रकट गरेको छ ।

२१औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याईपुर्याउन निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, शेयरधनीलगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

साथै वार्षिकोत्सवको अवसरमा उनले कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरू, अहोरात्र खटिइ नेपाल लाइफको सेवा विस्तारमा साथ दिने अभिकर्ताहरू तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशील भई सेवा प्रवाह गर्ने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन सीईओ प्रसाईंले आग्रह गरेका छन् ।

सीईओ प्रसाईले आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्दै अटुट विश्वास र अथाह स्नेहका साथ कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्बन्ध सधैँ कायम रहिरहोस् भन्दै कम्पनी सेवाग्राहीको सेवामा अझ कैयौं वर्ष अनवरत रूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै यस कोरोना भाइरसको महामारीमा पनि सरल रूपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराखेको पनि उनले बताएका छन् ।

‘समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन–पे, आईएमई–पे तथा प्रभु–पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी रु. १११.४७ अर्ब रूपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु. १०१ अर्ब २८ करोड रूपैयाँ र सर्वाधिक शेयरधनी कोष रु. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रु. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु. ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु. ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी रु.३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको छ ।’ कम्पनीमा १ लाख ७६ हजार ४३ जना भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेको दाबी गरिएको छ ।

‘कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

प्रतिक्रिया
सम्बन्धित