
काठमाडौं, १८ वैशाख । आज मे १, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ।
उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आजको दिन श्रम गरी खाने श्रमिक वर्गको गौरवपूर्ण दिन भएको बताएका छन् । आज शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले खासगरी श्रम गरी खाने श्रमिक वर्गको गौरवपूर्ण दिन भएको बताएका हुन् ।
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्ग तथा ट्रेड युनियनले खेलेको भूमिकाको स्मरण गर्दै उनले समृद्ध नेपाल निर्माणको महाअभियानलाई सफल बनाउन पनि श्रमिक वर्गको निकै महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरेका छन् । ‘वर्तमान सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ सुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको यहाँहरूलाई विदितै छ । सोहीकारण हाम्रो आर्थिक बृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो,’ शुभकामना सन्देशमा पोखरेलले लेखेको छन्, ‘सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सृजना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।’
सरकारले काम गर्दाको समय वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरेको उनको भनाइ छ । साथै, उच्च शिक्षा हासिल गरेका युवाहरूलाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको पनि उनले बताएका छन् ।
‘अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिंगो मानव समुदाय कोभिड–१९ विरुद्वको संघर्षमा होमिनु परेको छ । कोरोना भाइरसको महामारीका विरुद्ध अग्रपंक्तिमा रहेर आफैलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरूलाई म उच्च सम्मान गर्न चाहन्छु,’ उपप्रधानमन्त्री पोखरेलले लेखेका छन्, ‘उहाँहरूको साहस र योगदानलाई सम्मान गर्दै नेपाल सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी गराउन चाहन्छु ।’















प्रतिक्रिया