६ कार्तिक २०८३, शुक्रबार

कोभिडको पहिलो खोप लगाएपछि मष्तिष्काघात भएका पूर्वसांसद विदुर पौडेलको निधन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । राष्ट्रियसभाका पूर्वसांसद एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।

नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य, अधिकार सम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्यसमेत रहनुभएका पौडेल पछिल्लो समय भतिज परमेश्वर पौडेलका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।

अविवाहित जीवन बिताएका पौडेल ६ जना दाजुभाइमध्ये जेठा थिए । स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।