
काठमाडौं, १८ वैशाख । भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको अस्ट्रेलियाली सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय दिन सकिने बताएको छ ।
बीबीसीले प्रकाशित गरेको समाचार अनुसार भारतमा ‘कोरोना भाइरस सङ्क्रमित भई क्वारेन्टिनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्याका आधारमा’ पछिल्लो निर्णय लिइएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
यसै साताको शुरूतिर अस्ट्रेलियाबाट भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा हाल अनुमानित नौ हजार अस्ट्रेलियाली नागरिक रहेको र तीमध्ये ६०० जनालाई जोखिम समूहमा राखिएको छ ।
आगामी सोमबारदेखि लागू हुने गरी अस्ट्रेलिया पुग्नु १४ दिनअघि भारतमा रहेको भए त्यस्ता मानिसहरूलाई स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ । त्यसको उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्छ । ‘सरकारले यी निर्णयहरू हल्का ढङ्गले लिएको होइन,’ स्वास्थ्यमन्त्री ग्रेग हन्टले वक्तव्यमा भनेका छन् ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको उच्च दरलाई ध्यानमा राख्दै कैयौँ मुलुकले उडानमा प्रतिबन्ध लगाइसकेका छन् ।















प्रतिक्रिया