शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

कार्यक्षेत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीलाई आग्रह

दैनिक नेपाल २०७८ वैशाख १७ गते २१:०८

बागलुङ, १७ वैशाख । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले सहकारी संस्थाको कार्यक्षत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक दमौली शाखाले आज शुक्रबार (भर्चुअल रूपमा) आयोजना गरेको बजार प्रतिनिधिहरूको दक्षता अभिवृद्धि तालिममा रजिष्ट्रार पराजुलीले कार्यक्षेत्र भित्र पनि सदस्यसँग मात्रै कारोबार गर्नुपर्नेमा अन्यथा समेत हुने गरेको भन्दै कर्मचारीहरूलाई सचेत गराएका हुन् । सहकारी संस्थाहरूले कार्यक्षेत्र र गैरसदस्यसँग कारोबार गर्न नपाइने कानूनी व्यवस्था भए पनि कतिपय सहकारीहरूले त्यसको पालना नगरेको भन्दै उनले कानूनको पूर्ण पालना गरेर कारोबार गर्न आग्रह गरेका हुन् । कानून उल्लंघन गर्ने सहकारीहरू कारबाहीको दायरामा आउने उनको चेतावनी थियो ।

‘सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यसँग नियमित कारोबार गर्नुपर्ने सहकारीको काम हो रजिष्ट्रार पराजुलीले भने, ‘कार्यक्षेत्रभन्दा बाहिर र सदस्य भन्दा बाहिर कारोबार गर्ने सहकारीहरूलाई सच्याउनका लागि कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले कर्मचारीहरूले सहकारीमा हुने गरेका कानुन विपरितका काम रोक्न पहल गर्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्थाहरूको साख वृद्धि गर्नका लागि कर्मचारीहरूको भूमिका प्रभावकारी हुने भएकाले उनीहरूको दक्षता अभिवृद्धिका लागि संस्थाले योजना बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

यस्तै राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले सहकारी अभियानलाई व्यवस्थित गराउनका लागि सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूका बीचको समन्ध र क्षमता बढाउनुपर्ने बताए ।

त्यसैगरी सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सागर खनालले सहकारीका कर्मचारीहरूले सहकारीताको मर्म र भावनालाई बुझेर काम गर्न सक्ने हो भने यसबाट व्यक्तिगत तथा सामाजिक रूपमा समेत महत्वपूर्ण परिवर्तन गर्न सकिने बताए । पेशालाई सम्मानका साथ अगाडि बढाउन कर्मचारीहरूले सदैव ध्यान दिनु पर्नेमा उनको जोड छ ।

कार्यक्रममा बैंकका तालिम विभागका अधिकृत सूर्य रिमालले सहकारीका बजार प्रतिनिधिहरूको काम कर्तव्य र अधिकार, सहकारीलाई व्यवस्थित रूपमा सञ्चालनका लागि बजार प्रतिनिधिहरूले जान्नैपर्ने महत्वपूर्ण विषयहरू, बजार प्रतिनिधिहरूको व्यवहार, कोरोना महामारीमा ध्यान दिनुपर्ने कुराहरूलगायत विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित