
काठमाडौं, १६ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरि सबै बोलपत्रहरूको म्याद कम्तीमा १५ दिन थप गर्न सरकारसँग माग गरेको छ ।
निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवाबाहेकका खरिद प्रक्रियाहरूमा निर्माण व्यवसायी सदस्यहरू एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने भएकाले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरि उक्त सबै बोलपत्रहरूको म्याद कम्तीमा १५ दिन थप गर्न महासंघले माग गरेको हो ।
वैज्ञानिक ढङ्गले म्याद थप गर्ने प्रचलन नहुँदा विपदका समयमा थप समस्या सृजना हुने गरेको महासंघको ठहर छ । गत वर्षको लकडाउनमा पनि यस्तो समस्या देखिएको भन्दै महासंघले आज बिहबिारदेखि शुरू भएको नषेधाज्ञाका अवधिमा पनि यो समस्या बल्झिने आँकलन गरेको हो ।
‘यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम् अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको छ,’ महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तोकिएको समयमा सम्पन्न हुन नसकेका परियोजनाहरूमा व्यवहारिक रूपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन महासंघ सम्बन्धित सबै निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
महासंघका महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्व लगायत कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्ष समेत निर्माण कार्यहरू गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्शन होलिडे) मानी हाल सञ्चालित सम्पूर्ण निर्माण कार्यहरूका लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गर्न महासंघ माग गर्दछ ।’
कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अरबौं रूपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजस्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरहरूको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रूपले धराशायी भएको महासंघले जनाएको छ । यी विविध कारणले सञ्चालनमा रहेका हजारौं आयोजनाहरू समेत अगाडि बढाउन नसकिने महासंघको भनाइ छ ।
व्यवसायीहरूको रोकिएको रकम राज्यले भुक्तानी गर्ने वातावरण मिलाइ जटिल परिस्थितिमा समेत अर्थतन्त्रलाई चलायमान बनाइराख्न महासंघले आग्रह गरेको छ । हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मुल्यवृद्धि, निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरहरूको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।
राज्यले जारी गरेको सूचनाको अक्षरस पालना गरी कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट पहल गर्न देशभरका तमाम व्यवसायीलाई महासंघले अपिल समेत गरेको छ ।















प्रतिक्रिया