
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा आफ्नो मुल दायित्व भएको जवाफ केपी शर्मा ओलीलाई दिएका छन् ।
दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी हितविपरीतका कार्यहरु गरेको भन्दै ‘संघीय संसदको सदस्य पदबाट किन नहटाउने ?’ भनेर प्रश्न गर्दै प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
सोही स्पष्टीकरणको जवाफ पेश गर्दै नेता सुरेन्द्र पाण्डेले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकाले पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु आफ्नो दायित्व भएको प्रष्ट पारेका हुन् ।
उनले आफ्नो स्पष्टीकरणपत्रमा लेखेका छन्, ‘म नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित व्यक्ति भएकोले यस पार्टीको नाम, झण्डा, नीति र कार्यक्रमको प्रतिरक्षा गर्दै सो प्रयोजनका लागि विभिन्न कार्यक्रममा क्रियाशील हुनु मेरो दायित्व हो ।’
उनले अगाडि लेखेका छन्, ‘गत चैत्र ४ र ५ गते ललितपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम थियो । उक्त भेलाले पार्टी एकतालाई मजबुत बनाउने कुरामा नै जोड दिएको थियो । त्यस भेलाबाट कुनै पार्टी खोल्ने वा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उद्देश्य, कार्यक्रम र विधान विपरीतको कुनै काम भएको छैन ।’
नेता पाण्डेले दिएको स्पष्टीकरणमा अगाडि भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो ।’















प्रतिक्रिया