
काठमाडौं, ९ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।
नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले बिहीबार संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् ।
उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीकाविरूद्ध आफूहरूले कुनै काम नगरेको दाबी गरेका छन् । साथै उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि उल्लेख गरेको छन् ।
दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका हुन् ।
पार्टीविपरीत हुने गरी र लोकप्रिय सरकारविरूद्ध गतिविधि गरेकोले जुनसुकै बेला थप कारबाही गर्न सकिने चेतावनी पनि उनीहरूलाई दिइएको थियो ।
माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको थियो ।















प्रतिक्रिया